पथरी । सातौ बेलबारी अन्तराष्ट्रिय आमन्त्रण आरजु राइस गोल्डकपको उपाधी झापा ११ ले चुमेको छ । मोरङको बेलबारीमा जारी सातौं आरजु राइस बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ ।
शनिवार बेलबारी ११ लक्ष्मीमार्ग स्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५–४ गोल अन्तरले हराउँदै झापाले उपाधि चुमेको हो । निर्धारीत समय १/१ गोलको बराबरी भए पछि खेलको निर्णय टाईब्रेकरबाट लिएको हो ।
टाईब्रेकरमा झापा ११ का दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे भने सलहेशका लागि राम थापा ,आदित्य शाक्य र सन्तोष खत्रिले गोल गर्दा सलहेशका समीर तामाङको प्रहार झापाका गोल रक्षक सन्दिप लिम्बूले बचाएका थिए ।
फाईनल खेलमा मध्यान्तर अघिको ४५ मिनेट गोल रहित बराबरीमा सकिएको थियो । ५० औं मिनेटमा सलहेश फुटवल क्लब सिराहाका अजयी मार्टिनले हेडिङ मार्फत गोल गर्दै टिमलाई १ गोलको अग्रता दिलाए । ७१ औं मिनेटमा झापाका प्रदीप बुढाथोकी गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन । खेलको अन्तिम निर्णय सिंधै टाइब्रेकरबाट गरिएको हो । टाइब्रेकरमा उपाधि जित्दै झापा ११ ले ८ लाख नगद सहित अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफि जितेको छ । यस्तै उप विजेता सलहेस फुटबल क्लब सिराहाले चार लाख नगद सहित ट्रफि प्राप्त गरेको छ ।
फाइनल खेलको म्यान अफ द म्याच अभिषेक गुरुङ घोषित भए । उनले नगद ५ हजार सहित ट्रफि प्राप्त गरे । यस्तै झापाका सन्दीप लिम्बू उत्कृष्ठ गोल रक्षक, उत्सव राई उत्कृष्ठ मिड फिल्डर, सन्तोष गुरुङ उत्कृष्ठ कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए । तामाङले १० हजार नगद सहित ट्रफि र अरु खेलाडीले जनही ७ हजार नगद र ट्रफि प्राप्त गरेका छन् । यस्तै सलहेश फुटवल क्लवका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिमा पाँच गोल गरेका थिए । सलहेशका समीर तामाङले उत्कृष्ठ फरर्वाडको उपाधिसँगै ७ हजार नगद र ट्रफि प्राप्त गरे ।
विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका सांसदहरू ज्ञानेन्द्र सुबेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई, उप प्रमुख नितु थापा कोइराला, प्रमुख प्रसासकिय अधिकृत किरण ढकाल र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राई लगायतले ट्रफि,प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।