रामपुर । कठिन जितका साथ यहाँ सम्पन्न दोस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधी युनाइटेड युथ क्लब, नवलपुरले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा युनाइटेड युथले गन्नी फुटबल क्लब, पोखरालाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधी चुम्न सफल भएको हो । त्यसअघि रामपुर-७, किसानबारी, पाल्पा स्थित ज्योतिपुञ्ज मैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । पेनाल्टी शुटआउटमा भने युनाइटेड युथले गन्नीमाथी ६-५ को जित निकाल्न सफल भयो ।
विजेता बनेको युनाइटेड युथले उपाधिसहित नगद ३ लाख ३ हजार ३३३ रुपैयाँ हात पार्यो भने उपविजेता गन्नीले १ लाख ७७ हजार ७७७ रुपैयाँ सहित ट्रफी, मेडलमा चित्त बुझायो ।
बिधागततर्फ उत्कृष्ट गोलरक्षक युनाईटेड युथका राजन राना बन्दा उत्कृष्ट डिफेन्डर गन्नी एफसीका योगेश गुरुङ चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने युनाइटेड युथका अनिल राना, समीप ढकाल र गन्नीका सन्दिप रानाले संयुक्त रुपमा हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी युनाइटेड युथ कै अनिल राना घोषित भए ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी रामपुर नगरपालिका, पाल्पाका नगर प्रमुख रमन बहादुर थापा, वरिष्ठ समाजसेवी तथा ओके बाजेका नामले परिचित जापानी नागरिक काजुमासा काकिमी, आयोजक ज्योतिपुञ्ज क्लबका अध्यक्ष सुदिप गौतम लगायतले पुरस्कृत गरेका थिए ।