दोभान । यहाँ सम्पन्न दोस्रो दोभान कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि गुड मर्निङ फुटबल क्लब, बुटवलले जितेको छ ।
फाइनलमा आयोजक दोभान फुटबल क्लब, पाल्पालाई शून्यका विरुद्ध १ गोलले हराउँदै गुड मर्निङ च्याम्पियन बनेको हो । गुड मर्निङका लागि सुन्दर बगालेले गरेको एक मात्र गोल टोलीलाई उपाधि जिताउन निर्णायक गोल बन्यो ।
विजेता बनेको गुड मर्निङले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता भने दोभानले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ फाइनल खेलको म्यान अफ दि म्याच र उत्कृष्ट गोलरक्षक दुवै गुड मर्निङका अनुप थापा चुनिए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार दोभानका मिलन आले मगरले हात पार्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी दोभान कै कप्तान अमिर श्रेष्ठ घोषित भए ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई तिनाउ गाउँपालिका, पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लाल बहादुर थापा, आयोजक दोभान फुटबल क्लब, पाल्पाका अध्यक्ष बिक्रम कुमाल, खेल संयोजक सुनिल श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।