News जित नजिक पुगेर पनि रोकियो द रियल ब्रदर्श
गोलनेपाल

पथरी । खेलको अन्तिमतिर सम्हालिन नसक्दा द रियल ब्रदर्श एफसीले पथरीमा जारी टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगमा आइतबार बराबरी खेल्न बाध्य भएको छ ।

पथरी स्टेडियममा भएको समूह बी तर्फको दोस्रो खेलमा द रियल ब्रदर्शले वाई.जि.एफ.टी. सँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । खेलको १२औं मिनटमै सुजन खत्रीको गोलबाट अग्रता बनाएको द रियल ब्रदर्शले त्यो अग्रतालाई अन्तिमतिर गुमाउन पुग्यो ।

उता खेलको अन्तिमसम्म पनि हार नमानेको वाई.जि.एफ.टी. का लागि अन्तिमतिर इन्जुरी समयमा निमन लिम्बुले गोल गर्दै टोलीको सम्भावित हार टारेका थिए भने द रियल ब्रदर्शसँगको महत्वपूर्ण एक अंक खोस्न समेत सफल भएका थिए ।

खेलमा वाई.जि.एफ.टी. कै संजय लिम्बु म्यान अफ द म्याच घोषित भए । लिम्बुलाई पथरी–२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता यम प्रसाद गुरागाईले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत मंसिर २९ गते सोमबारको खेल समूह ए तर्फको हिम–अस हाइवे एफसी र हेरिकास न्यु स्टार एफसीबीच हुने आयोजकले जनाएको छ । पथरी शनिश्चरे नगरपालिका भित्रका कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

प्रतियोगितामा सहभागि आठ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने पौष ११ गते शनिबारका दिन हुनेछ ।

Post Comments