News कठिन जितका साथ जनज्योति क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । जनज्योति क्लब यहाँ जारी प्रथम स्व. प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा जनज्योतिले केरवानी स्पोर्टिङ क्लब विरुद्ध कठिन जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

बुटवल–७ दिपनगर स्थित सिद्धेश्वरी मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा जनज्योतिले केरवानीलाई टाईब्रेकरमा ४–२ ले हरायो । यसअभि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको छिनोफानो टाईब्रेकरबाट गर्नुपरेको थियो ।

सोमबारको खेलको म्यान अफ द म्याच भने केरवानीका गोलरक्षक निशान थापा घोषित भएका थिए । थापालाई आयोजक क्लब कै पूर्व अध्यक्ष रामकाजी केसीले पुरस्कृत गरेका थिए । प्रतियोगिता अन्तरगत मंगलबारको खेल दुई बलिया टोली झरना स्पोर्टस क्लब र फर्साटिकर युवा क्लबबीच हुने आयोजक क्लबका सल्लाहकार राजेन्द्र रिजाल (राजु)ले जानकारी दिए ।

आउँदो पौष ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्ने समेत रिजालले जानकारी दिए । त्यस्तै विधातर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक सौभाग्य युवा क्लबका अध्यक्ष दिपक गुरुङले बताए ।

Post Comments