सुपौली । झिनो अन्तरको जितका साथ रेसुङ्गा युवा क्लब, दुर्गानगर यहाँ जारी स्व. बस बहादुर शेरपुजा पुन तथा दिलकुमारी शेरपुजा पुन स्मृति तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो क्वाटरफाइनलतर्फ रेसुङ्गाले लिस्नु युवा क्लब, कोटिहवालाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
तिलोत्तमा–१४, सुपौली स्थित समपुर्ण खेलमैदानमा भएको खेलमा रेसुङ्गाका लागि पहिलो हाफको छैटौं मिनटमा सनम गुरुङ्गले गरेको एक मात्र गोल टोलीलाई जिताउन निर्णायक गोल बन्यो ।
खेलमा रेसुङ्गा कै अस्बिक दुरा म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर १६ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र चाँदनी युवा क्लब, दानापुर बीच हुने खेल संयोजक अशोक पुनले जानकारी दिए ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।