News दोस्रो चासोक तङनाम कञ्चजंघा सेसेलुङ गोल्डकप शुरु, सम्दुको विजयी शुरुवात
गोलनेपाल

फुङलिङ । शनिबारदेखि शुरु भएको दोस्रो चासोक तङनाम कञ्चनजंघा सेसेलुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा सम्दु फुटबल क्लब, तेह्रथुमले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा सम्दुले घरेलु टोली कञ्चनजंघा फुङलिङ क्लब, ताप्लेजुङलाई सडन डेथमा हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

भानु माविको खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ सम्दुका लागि दुवै गोल सन्दिप लिम्बुले गरे भने कञ्चनजंघाका लागि अनुप सन्दाङ र पवन नियोहाङले गरेका थिए । निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा सम्दु विजयी बनेको हो ।

खेलमा सम्दुका लागि दुई गोल गरेका सन्दिप लिम्बु म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । यो जितसँगै सम्दु सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंसिर १६ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल डाँगीहाट फुटबल क्लब, मोरङ र रेड डेभिल्स मजोमाई, इलामबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङनामले गरेका थिए ।

चासोक तङनाम संचालन समिति, ताप्लेजुङको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०२,०८१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,०८१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।

 

Post Comments