News न्यु स्टार दोस्रो चासोक तङनाम कञ्चनजंगा सेसेलुङ गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

फुङलिङ । रोमाञ्चक जितका साथ न्यु स्टार क्लब, बिर्तामोड, झापा जारी दोस्रो चासोक तङनाम कञ्चनजंगा सेसेलुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा न्यु स्टारले फिदिम स्र्पोटिङ क्लब, फिदिम, पाँचथरलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

भानु माविको खेलमैदानमा भएको खेलमा न्यु स्टारका लागि डेनियल र अर्माण्डले गोल गरे । उता पराजित फिदिमका लागि भने निर्देश राईले एक मात्र गोल फर्काएका थिए ।

खेलमा न्यु स्टारका डेनियल म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १९ गते बुधबारको पहिलो सेमिफाइनल खेल सम्दु फुटबल क्लब, तेह्रथुम र गोधुली क्लब, धरान, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।

चासोक तङनाम संचालन समिति, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०२,०८१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,०८१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।

 

Post Comments