सुपौली । कठिन जितका साथ जनज्योति युवा क्लब, डिंगरनगर जारी स्व. बस बहादुर शेरपुजा पुन तथा दिलकुमारी शेरपुजा पुन स्मृति तेस्रो समपुर्ण कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको चौथो क्वाटरफाइनलमा जनज्योतिले न्यु सिर्जना युवा क्लब, करौजियालाई टाईब्रेकरमा ४–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ अजय नेपालीको आत्मघाती गोलबाट जनज्योतिले खेलमा अग्रता बनाएको थियो । यद्यपि दोस्रो हाफतर्फ हिमाल थापाले न्यु सिर्जनाका लागि बराबरी गोल फर्काएका थिए । टाईब्रेकरमा भने न्यु सिर्जना चुक्न पुग्यो ।
खेलमा जनज्योतिका गोलरक्षक किस्मत क्षेत्री म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १९ गते बुधबारको पहिलो खेल रेसुङ्गा युवा क्लब, दुर्गानगर र सिम्रिक युवा क्लब, बुटवल बीच हुने खेल संयोजक अशोक पुनले जानकारी दिए ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।