News हमालको ह्याट्रिकसँगै फर्साटिकर फाइनलमा
सुरज राना मगर

बुटवल । प्रतियोगिताको शुरुवातबाटै दावेदार मानिएको फर्साटिकर युवा क्लब रुपन्देहीमा जारी तेस्रो रानीगञ्ज कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो क्वाटरफाइनलमा फर्साटिकरले सौभाग्य युवा क्लब विरुद्ध ४–० को सहज जित निकाल्यो । बुटवल–१७ रानीगञ्ज स्थित भूपू सैनिक खेलमैदानमा भएको खेलमा फर्साटिकरका लागि सुरज हमालले प्रतियोगिता कै पहिलो ह्याट्रिक गरे ।

खेलमा गोलको खाता भने सातौं मिनटमा मुकेश कुँवरले पेनाल्टीबाट गोल गर्दै खोलेका थिए । टिकाराज गुरुङलाई बक्स भित्र विपक्षी खेलाडीले लडाएपछि फर्साटिकरले पेनाल्टीको अवसर पाएको थियो । जसलाई कुँवरले कुनै गल्ती नगरी गोलमा परिणत गर्न सफल भए ।

त्यस्तै पहिलो हाफ कै १७औं मिनटमा सुरज हमालले फर्साटिकरका लागि दोस्रो गोल गरे । पहिलो हाफसम्म फर्साटिकरले २–० कै अग्रता कायम राख्यो । यद्यपि दोस्रो हाफ शुरु भएको नवौं मिनट मै हमालले फर्साटिकरका लागि दोसे गोल गरे भने ५६औं मिनटमा चौथो गोल गर्दै टोलीको सहज जित पक्का गरे ।

मंगलबारको खेलको म्यान अफ द म्याच ह्याट्रिककर्ता सुरज हमाल नै घोषित भए । फर्साटिकरले अब फाइनलमा बुधबार हुने दोस्रो सेमिफाइनलतर्फ आयोजक रानीगञ्ज युवा क्लब र बुटवल मिड टाउनबीचको विजेतासँग खेल्ने खेल संयोजक आशिष मगरले जानकारी दिए ।

रानीगञ्ज युवा क्लब, बुटवल–१७ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भने यहि पौष ४ गतेका दिन हुनेछ ।

 

Post Comments