News २५औं आदर्श कपको च्याम्पियन्स बन्यो एन्फा कास्की–११
उमेश पुन

पोखरा । रोमाञ्चक जितका साथ यहाँ सम्पन्न २५औं आदर्श कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि एन्फा कास्की–११ ले जितेको छ । फाइनलमा एपिएफ गण्डकी मुख्यालयलाई १–२ ले हराउँदै कास्की च्याम्पियन्स बनेको हो ।

शनिबार लेखानाथ रंगशालामा भएको उपाधि भिडन्तमा प्रबिन स्याङ्तनको गोलबाट एपिएफले खेलमा अग्रता बनाए तापनि कास्कीले रोमाञ्चक पूनःरागमन गरेको थियो । कास्कीका लागि अनुज भण्डारीले बराबरी गर्दा संगम ठकुरीले दोस्रो तथा निर्णायक गोल गर्दै कास्कीको जित पक्का गरेका थिए ।

विजेता बनेको एन्फा कास्कीले उपाधिसहित नगद ४,२५,५२५ रुपैयाँ हात पार्यो भने उपविजेता एपिएफ गण्डकीले २,२५,५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विधागततर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक कास्कीका आयुष्मान गुरुङ बन्दा उत्कृष्ट डिफेन्डर एपिएफका सन्तोष श्रेष्ठ चुनिए । उत्कृष्ट मिडफिल्डर कास्कीका अंकित गुरुङ चुनिदा सर्वाधिक गोलकर्ताको पुरस्कार एपिएफका प्रबिन स्याङ्तनले हात पारे । उत्कृष्ट प्रशिक्षक कास्कीका योगेन्द्र थकाली बने । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार हात पारे ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कास्की कै अनिष तामाङ घोषित भए । त्यसवापत उनले नगद २५ हजारसहित ट्रफी हात पारे ।

आदर्श युवा क्लब, पोखराको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments