News रुपन्देहीका पूर्व खेलाडी बिक्रमलाई मण्डे एफसीको सम्मान
सुरज राना मगर

बुटवल । रुपन्देही कै पुराना र परिचित खेलाडी मध्ये एक बिक्रम सेन ठकुरीलाई मण्डे एफसी, बुटवलले नगदसहित सम्मान गरेको छ । बुटवल मै सम्पन्न मण्डे फुटसल कप राष्ट्रिय फुटसल प्रतियोगिताको समापनको अवसर पारी क्लबले बिक्रमलाई नगद २१,१२० रुपैयाँसहित खादा ओढाई सम्मान गरेको हो ।

राम्रो गोलरक्षकको भूमिका आफूलाई नियमित रुपन्देहीको स्थानीय क्लब, रुपन्देही–११ को फुटबल टोली हुँदै शिर्ष फुटबल ए डिभिजन लिगमा समेत परिचित बनाएका बिक्रम खेलकै क्रममा चोटिल हुनु र त्यसपछि दुर्घट्नामा परेर अशक्त भएपछि फुटबलबाट टाढिएका थिए ।

उनीसँगै फुटबल खेलेका रुपन्देहीका पूर्व ए डिभिजन खेलाडी सुरज थापाको विशेष सक्रियता र पहलमा बिक्रमलाई हौसला मिलोस भनी एक असल साथीको हैसियतले सम्मान गरेको बताए । मण्डे फुटसल कपका खेल संयोजक समेत रहेका सुरज थापाले बिक्रमले जिल्लाको फुटबलमा पुर्याएको योगदान सधै विशेष रहने बताए । एउटा खेलाडीले अर्को खेलाडीलाई दिने यस्ता सम्मानले धेरैलाई हौसला र प्रेरणा मिल्ने उनको भनाई थियो ।

सुरज थापा अगाडी भन्छन्, “खेलाडीहरुको दुःख सँगै खेलेका खेलाडी साथीभाईहरुले नै राम्रोसँग बुझेका हुन्छन् । बिक्रमलाई सम्मान गर्ने कार्यका लागि मैले गरेको यो प्रयास आउने दिनहरुमा अन्य खेलाडीहरुका लागि पाठ बनोस । खेलाडीहरु देशका गहना हुन्। खेलाडीले सम्मान पाउनुपर्छ, उनीहरु यसका हकदार छन् । बिक्रम पनि त्यही सम्मानका हकदार हुन् ।”

सोही अवसरमा क्लबका अध्यक्ष समेत रहेका रवि विश्वकर्माले पनि क्लबको तर्फबाट थोरै धेरै भए पनि बिक्रम जस्ता खेलाडीलाई सम्झिएर आफूहरुले सम्मान गर्न पाउनु गर्वको कुरा रहेको बताए । उनले आउने दिनहरुमा क्लबले गर्ने अन्य गतिविधीहरुमा पनि जिल्लाका खेलाडीहरुलाई सधै प्रोत्साहन र हौसला दिने प्रतिबद्धता समेत जनाए ।

 

 

Post Comments