
तानसेन । प्रभावशाली जितकासाथ यहाँ सम्पन्न दोस्रो तानसेन मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर १ ले जितेको छ । टुडिखेल मैदानमा भएको उपाधि भिडन्तमा वार्ड नम्बरले साविक विजेता वार्ड नम्बर ९ लाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको वार्ड नम्बर १ ले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता वार्ड नम्बर ९ ले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ वार्ड नम्बर ९ का सुदिप थापा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक वार्ड नम्बर १ का अजय थापा बन्दा उत्कृष्ट डिफेन्डर वार्ड नम्बर १ कै प्रवेश सुनवार चुनिए ।
उत्कृष्ट मिडफिल्डर वार्ड नम्बर ९ का आशिष राना चुनिदा सर्वाधिक गोलकर्ताको पुरस्कार वार्ड नम्बर १ का सुरज श्रेष्ठले हात पारे । त्यसैगरी उदियमान खेलाडी भने वार्ड नम्बर १ का दान बहादुर बुढा मगर बने ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।