
बराहक्षेत्र । सोमबारदेखि शुरु भएको तेस्रो भरौल भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा भोजपुर भेट्रान क्लब, भोजपुरले विजयी शुरुवात गरेको छ ।
बराहक्षेत्र–५, सुनसरी स्थित भरौल खेलमैदानमा भएको उद्घाटन खेलमा भोजपुर भेट्रानले बराह–११ भेट्रान क्लब, सुनसरीलाई ४–२ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
भोजपुर भेट्रानका लागि काजी राईले दुई गोल गर्दा सुरज श्रेष्ठ र डेनिम राईले थप एक–एक गोल गरे । पराजित बराह–११ भेट्रानका लागि भोला ठकुरी र यम बहादुर सुब्बाले गोल गरेका थिए ।
खेलमा भोजपुर भेट्रानका काजी राई म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद २१०० र मेडल हात पारे । यो जितसँगै भोजपुर क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत पुस २३ गते मंगलबारको पहिलो क्वाटरफाइनल खेल उर्लाबारी भेट्रान क्लब, मोरङ र दुधे भेट्रान, झापा बीच हुनेछ भने सोही दिन हुने दोस्रो क्वाटरफाइनलमा पूर्वेली भेट्रान, बिर्तामोड, झापा र हाम्रो धरान भेट्रान, सुनसरी भिड्ने छन् ।
भरौल भेट्रान क्लब, बराहक्षेत्र–५, कालाबञ्जर, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुस २७ गतेका दिन हुनेछ ।