News पथरी प्रिमियर लिगः द रियल ब्रदर्श समूह विजेता
गोपाल काफ्ले

पथरी । द रियल ब्रदर्श फुटबल क्लब जारी टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगतर्फ समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको लिग चरणको अन्तिम खेलमा रियल ब्रदर्शले टेन नवोदय एफसीलाई १–० को झिनो अन्तरले हरायो । पथरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा रियल ब्रदर्शका लागि १५औं मिनटमा डम्बर मगरले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

सोमबारको खेलको म्यान अफ द म्याच भने रियल ब्रदर्श कै दिपेन माझी घोषित भए । उनलाई पथरी शनिश्चरे नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष जय बहादुर तामाङले पुरस्कृत गरे ।

यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको रियल ब्रदर्श समूह विजेता बन्यो । त्यस्तै ६ अंक जोडेको पराजित टेन नवोदय समूह उपविजेता बन्यो । यी दुवै टोली समूह बी बाट सेमिफाइनलमा समेत प्रवेश गरे ।

त्यस्तै तीन अंक जोडेको देवीगंज एफसी तेस्रो स्थानमा रह्यो भने १ अंकका साथ वाई.जि.एफ.टी. पुछारमा रहयो । साथै देवीगंज र वाई.जि.एफ.टी. प्रतियोगिताको समूह चरणबाटै बाहिरिए ।

समूह ए बाट भने श्रीजंगा फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्थानीयस्तर मै पहिलोपटक अक्सनमार्फत खेलाडीहरु खरिद गरि सञ्चालित लिगको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने आउँदो पुष ११ गतेका दिन हुनेछ ।

Post Comments