News फर्साटिकर कप शुरु, भैरवको कठिन जित
सुरज राना मगर

शुद्धोदन । मोफसलमा छोटो समय मै लोकप्रिय बनेको रुपन्देहीको फर्साटिकर कपको आठौं संस्करणको रोमाञ्चकता शुक्रबारदेखि शुरु भएको छ ।

शुद्धोदन गाउँपालिका–४ बर्मेली टोल स्थित फर्साटिकर माविको खेलमैदानमा भएको उद्घाटन खेलमा भैरव स्पोर्टस क्लबले कठिन जितका साथ विजयी शुरुवात गर्यो ।

यस बर्ष शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कप नामबाट आयोजित प्रतियोगिताको उद्घाटन खेलमा भैरवले केरवानी स्र्पोटिङ क्लबलाई सडन डेथमा ७–६ ले हरायो ।

यसअघि खेलाइएको निर्धारित समयतर्फ ४०–४० मिनटको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । उद्घाटन खेलको म्यान अफ द म्याच भैरव कै सुमित श्रेष्ठ घोषित भए ।

यो जितसँगै भैरव प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत पुष ११ गते शनिबारको खेल सेन्ट्रल कलेज भरतपुर एफसी, चितवन र जनज्योति युवा क्लब, बुटवलबीच हुने खेल संयोजक टेकु भण्डारीले जानकारी दिए ।

शुद्धोदन गाउँपालिकाका अध्यक्षद्वारा उद्घाटन

यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमकाबीच प्रमुख अतिथी शुद्धोदन गाउँपालिकाका अध्यक्ष किशन चौधरीले गरेका थिए । सो अवसरमा आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुँवर लगायतका अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।

फर्साटिकर युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधि सहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्ने अध्यक्ष आयोजक क्लबका अध्यक्ष कुँवरले बताए ।

कुराकानीका क्रममा अध्यक्ष कुँवरले फर्साटिकर कपले राष्ट्रियस्तर मै पहिचान बनाइसकेको बताए । उनका अनुसार प्रतियोगितामा स्थानीयदेखि राष्ट्रियस्तरका टोली तथा खेलाडीहरुको सहभागिता रहने भएकाले जिल्ला भित्रका खेलाडीहरुले पनि प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरुसँग भिड्दा राम्रो अनुभव हासिल गर्नुका साथै क्षमता प्रदर्शन गर्न अवसर मिल्ने बताए ।

 

Post Comments