
धरान । पाहुना टोली युनाइटेड खर्साङ्ग फुटबल क्लब, भारत जारी २५औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ युनाइटेड खर्साङ्गले घरेलु टोली धरान फुटबल क्लब, सुनसरीलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
धरान रंगशालामा भएको निर्धारित समयको खेलतर्फ १८औं मिनटमा हेमराज भुजेलको गोलबाट युनाइटेड खर्साङ्गले खेलमा अग्रता लिएको थियो । यद्यपि खेलको ४४औं मिनटमा बिनोद राईले धरानका लागि गोल फर्काएका थिए ।
पेनाल्टी शुटआउटमा भने युनाइटेड खर्साङ्गले धरानमाथि ७–६ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्यो । खेलमा युनाइटेड खर्साङ्गका हेमराज भुजेल म्यान अफ दि म्याच बने । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तर्गत माघ २१ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल राजा क्लब, सुनसरी र आर.टि.सी. फुटबल क्लब, भुटानबीच हुने आयोजकले जानकारी दियो ।
धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाखसहित ट्रफी हात पार्ने आयोजकले जानकारी दियो ।