News एनआरटीद्वारा बुढासुब्बा गोल्डकपको उपाधि रक्षा
गोलनेपाल

धरान । साविक विजेता न्युरोडटिम (एनआरटी) ले २५औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जित्दै उपाधि रक्षा गर्न समेत सफल भएको छ ।

शनिबार भएको फाइनलमा एनआरटीले चर्च ब्वाइूज युनाइटेडलाई २–१ ले हराउँदै उपाधि रक्षा गर्न सफल भएको हो । धरान रंगशालामा भएको खेलको २४औं मिनटमा अनन्त तामाङको गोलबाट चर्च ब्वाइृजले खेलमा अग्रता लिएको थियो ।

तर, २७औं मिनटमा हेनरी पोकोले एनआरटीका लागि बराबरी गोल फर्काए । त्यस्तै ५८औं मिनटमा हेनरीले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि समेत दोस्रो र निर्णायक गोल गर्दै एनआरटीको जित पक्का गरे ।

विजेता बनेको एनआरटीले उपाधिसहित नगद १० लाख हात पार्दा उपविजेता चर्च ब्वाईजले ५ लाखमा चित्त बुझायो । एनआरटीका शिशिर लेखी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले त्यसवापत नगद १ लाख हात पारे ।

त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक एनआरटीका प्रमिजय गच्छदार चुनिए भने उत्कृष्ट डिफेन्डर चर्च ब्वाईजका पदम भट्टराई बने । उत्कृष्ट मिडफिल्डर पनि चर्च ब्वाईज कै रोहन कार्की चुनिदा उत्कृष्ट फरवार्ड चर्च ब्वाईज कै समिर तामाङ बने । उत्कृष्ट प्रशिक्षक भने एनआरटीका हरिओम श्रेष्ठ घोषित भए । उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार प्राप्त गरे ।

त्यसैगरी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार भने चर्च ब्वाईजका समिर तामाङ र अर्माण्ड बिडुमले संयुक्त रुपमा हात पारे । प्रतियोगिताभरि समान ३–३ गोल गरेका दुवैले ३५ हजार हात पारे ।

धरान फुटबल क्लब, धरान, सुनसरीको आयोजनमा माघ १९ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments