News अर्जुनधारा ६ लाई दोस्रोपटक यु-१८ को उपाधि
रमेश समदर्शी

शनिश्चरे (झापा) । झापाको अर्जुनधारा खेलमैदानमा आयोजित यु १८ वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि ६ नम्बर वडाको टिमले रक्षा गरेको छ । अर्जुनधारा ६ नम्बर वडाका लागि यो उपाधि दोस्रोपटक हो ।

शनिश्चरे एफसीले बर्सेनि आयोजना गर्ने प्रतियोगिताको पहिलो संस्करण पनि ६ नम्बर वडाले जितेको थियो । आज सम्पन्न तेस्रो संस्करणमा पनि च्याम्पियन बनेको हो । आजको खेलमा चिरपरिचित प्रतिद्वन्द्वी ८ नम्बर वडाको टिमलाई १-० गोलको झिनोअन्तरले पराजित गरेको हो ।

तेस्रो संस्करणसम्म आइपुग्दा यी दुई टोली नै फाइनलमा पुगेका थिए । दोस्रो संस्करण भने ८ नम्बर वडाको टिमले जितेको थियो । ६ नम्बर वडाको जितमा साहिल तामाङको गोल नै निर्णायक बन्यो । उनी खेलको सर्वाधिक गोलकर्ता बने ।

यसैगरी खेलको प्लेयर अफ दी म्याच ६ नम्बर वडाकै अमन दनुवार भए । उत्कृष्ट प्रशिक्षक ६ नम्बरकै भीम राई भए । खेलको सर्वोत्कृष्ट खेलाडी भने ८ नम्बरका क्षितिज अधिकारी, उत्कृष्ट रक्षक लक्कीराम हेमरम र उत्कृष्ट मिडफिल्ड सांगे तामाङ घोषित भए ।

अर्जुनधारा नगरपालिकाका ११ वटै टोली सहभागी प्रतियोगिताको फेयर प्ले टिम भने वडा नम्बर ७ को टिम घोषित भयो । वडा नम्बर ७ कै गोलरक्षक अनमोल लिम्बू उत्कृष्ट गोलरक्षक भए । यसैगरी, प्लेयर अफ दी इयरका रुपमा अर्जुनधारा १ का कप्तान गणेश गजमेर घोषित हुँदै १५ हजारबराबरको एक थान साइकल पाउन सफल भए ।

Post Comments