
काठमाडौं । घरमै हुन गईरहेको चारदेशीय महिला च्याम्पियनसिप खेल्न नेपाली महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बापो सुब्बा ग्रीसबाट स्वदेश फर्किएकी छिन् ।
व्यवसायीक फुटबल खेल्न ग्रीस पुगेकी अन्जिलाले त्यहाँ निस अट्रोमिटौबाट तीन खेलहरु खेल्न समेत भ्याईन् । यद्यपि उनी अन्तर्राष्ट्रिय ड्युटीका लागि बुधबार स्वदेशी फर्किएकी हुन् ।
अन्जिलालाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश साह, महिला फुटबल टोलीकी टिम प्रशिक्षक नबिना श्रेष्ठ वैद्य लगायतले स्वागत गरेका थिए ।
स्मरण रहोस, नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमार सहभागि रहेको प्रतियोगिताको उद्घाटन खेलमा फागुन ५ गतेका दिन म्यानमार र लेबनान भिड्ने छन् भने सोही दिन नेपालले किर्गिस्तानको सामना गर्नेछ ।
त्यस्तै फागुन ८ गतेका दिन नेपालले लेबनानसँग खेल्नेछ भने लिग चरणको अन्तिम खेलमा फागुन ११ गतेका दिन म्यानमारको सामना गर्नेछ । लिगचरणको खेलपश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।