News स्व. संजोग स्मृति कप शुरु, बिन्दावासिनीको विजयी शुरुवात
गोलनेपाल

बेलबारी । टुबोर्ग स्व. संजोग स्मृति कप नकआउट फुटबल प्रतियोगितामा बिन्दावासिनी फुटबल क्लब, बिराटनगरले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

उद्घाटन खेलमै बाई पाएको बिन्दावासिनीले डाँगिहाट फुटबल क्लब, मोरङलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । बेलबारी–३ मोरङ स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा बिन्दावासिनीका लागि २९औं मिनटमा मिलन राईले गोलको खाता खोलेका थिए । त्यस्तै ५०औं मिनटमा भुवन बस्नेतले त्यो अग्रता दोब्बर पारेका थिए । जुन अग्रता खेलको निर्णायक पनि बन्यो ।

उता पराजित डाँगीहाटका लागि ६५औं मिनटमा सुशन तामाङले एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उद्घाटन खेलको म्यान अफ द म्याच बिन्दावासिनी कै पदम भट्टराई घोषित भए । उनले पुरस्कार वापत नगद २५५५ रुपैयाँ हात पारे ।

प्रतियोगिता अन्तरगत पुष १७ गते शुक्रबारको खेल धरान सिटी एकेडेमी एफसी, धरान र उर्लाबारी फुटबल क्लब, उर्लाबारीबीच हुने आयोजकले जनाएको छ । बेलबारी फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रदेश नम्बर १ का कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो पुष २५ गते शनिबारका दिन हुनेछ । स्मरणीय छ, बिहीबारको प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच बेलबारी नगरपालिका, मोरङका मेयर ज्ञानेन्द्र सुबेदीले गरेका थिए ।

Post Comments