News गाईघाट बन्यो कोशी प्रदेशको च्याम्पियन
गोलनेपाल

इटहरी । कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि गाईघाट फुटबल क्लब, उदयपुरले जितेको छ । बिहीबार सुपर लिग चरणको अन्तिम खेलमा गाईघाटले पाँचथर युनाइटेड फुटबल क्लब, पाँचथरलाई ११–० को फराकिलो अन्तरले हरायो ।

गाईघाटको जितमा रितेश तामाङले पाँच गोल गर्दा पबिन राईले चार गोल गरे । त्यस्तै देवराज चौधरी र युवराज थापाले समान १–१ गोल गरे । खेलमा पाँच गोल गरेका गाईघाटका रितेश तामाङ म्यान अफ दि म्याच बने ।

बिहीबार नै भएको अर्को खेलमा बुईपा एघार फुटबल क्लब, खोटाङले देउराली युवा फुटबल क्लब, धनकुटालाई ३–१ ले हरायो । बुईपा एघारका लागि डिकेन राईले ह्याट्रिक गरे भने देउरालीका लागि बिपिन लिम्बुले गोल गरेका थिए । खेलमा ह्याट्रिककर्ता बुईपा एघारका डिकेन राई म्यान अफ दि म्याच बने ।

विजेताले गाईघाले उपाधिसहित नगद २ लाख हात पायो । दोस्रो स्थान हासिल गरेको देउरालीले १ लाख ५० हजार हात पार्दा तेस्रो स्थान हासिल गरेको बुइपा एघारले १ लाख २५ हजार प्राप्त गर्यो । त्यस्तै चौथो बनेको पाँचथर युनाइटेडले १ लाख हात पार्यो ।

विधागततर्फ उत्कृष्ट गोलरक्षक गाईघाटका निम छिरिङ शेर्पा बन्दा उत्कृष्ट डिफेन्डर बुइपा एघारका रामसुर राई चुनिए । उत्कृष्ट मिडफिल्डर देउरालीका बिपिन लिम्बु बने भने उत्कृष्ट फरवार्ड गाईघाटका पबिन राई चुनिए । उत्कृष्ट प्रशिक्षक पनि गाईघाटका किरण कुमार कार्की बने । सबैले जनही १५–१५ हजार प्राप्त गरे ।

त्यस्तै प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी भने गाईघाटका युवराज थापा घोषित भए । उनले त्यसवापत नगद ५० हजार र ट्रफी हात पारे । समापन कार्यक्रमका प्रमुख अतिथी प्रदेश खेलकुद विकास बोर्ड, बिराटनगरका सदस्य–सचिव कृष्ण बस्नेत लगायतले विजेता टोली तथा खेलाडीहरुलाई पुरस्कृत गरेका थिए ।

Post Comments