News मच्छिन्द्रलाई निराश पार्दै झापा ११ क्वाटरफाइनलमा
रमेश समदर्शी

भद्रपुर । बुधबार मात्र इटहरी गोल्डकपको फाइनलमा पुगेको मच्छिन्द्र एफसी गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।

उपाधिको दाबेदार मानिएको मच्छिन्द्रको चुनौती झापा ११ फुटबल क्लबले समाप्त बनाएको हो । जितसँगै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्रलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको हारको चोट बिर्सेको छ ।

झापाका लागि खेलको २९औँ मिनेटमा एकमात्र गोल बबिन बोहोराले गरे । एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए । उनको गोल नै निर्णायक बन्यो । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।

बी डिभिजन लिगको तयारी गरिरहेको झापाले ए डिभिजन लिग उपविजेता मछिन्द्रलाई पहिलो खेलबाटै घर फर्काएको छ । खेलको प्लेयर अफ द म्याच झापाका गोलकिपर लिम्बू भए । उनले नगद २१ हजारसहित ट्रफी पाए ।

शुक्रबारको पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।

Post Comments