News वडा नम्बर १५ लाई अनुपम घलान स्मृति कपको उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडी अनुपम घलानको स्मृतिमा सम्पन्न भएको प्रथम अनुपम घलान स्मृति कप यु–१६ नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर १५ ले जितेको छ ।

पिप्ले क्याम्पा रंगशालामा भएको निर्धारित समयको रोमाञ्चक फाइनल खेल बराबरीमा टुंगिएपछि वडा नम्बर १८ लाई सडन डेथमा हराउँदै वार्ड नम्बर १५ च्याम्पियन बनेको हो । विजेता बनेको वार्ड नम्बर १५ ले उपाधिसहित नगद १ लाख हात पार्दा उपविजेता वार्ड नम्बर १८ ले ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

वार्ड नम्बर १५ का बिकेश थिङ फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । बिकेशले उत्कृष्ट गोलरक्षकको पुरस्कार समेत हात पारे । त्यस्तै अन्य विधातर्फ उत्कृष्ट डिफेन्डर वार्ड नम्बर १५ कै नबिन लो बन्दा उत्कृष्ट मिडफिल्डर वार्ड नम्बर १८ का साजन लोप्चन बने ।

उत्कृष्ट फरवार्ड वार्ड नम्बर १५ का आशिष जिम्बा चुनिदा उत्कृष्ट प्रशिक्षक पनि वार्ड नम्बर १५ कै उज्वल वाईबा बने । विधागततर्फका उत्कृष्ट सबैले जनही ५–५ हजार हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने वार्ड नम्बर १८ का अभिराज थापा मगर घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे ।

नगर खेलकुद विकास समिति, हेटौडाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल १० वार्डका युथ फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।

 

 

Post Comments