
पनौती । यहाँ सम्पन्न लक्ष्मीनारायण (लक्ष्य) स्मृति कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक मानेश्वरी ब्वाईज क्लब (रातो) ले जितेको छ ।
मंगलबार सम्पन्न फाइनल भिडन्तमा मानेश्वरी ब्वाईजले श्री कुमारी क्लबलाई १–० ले हराउँदै उपाधि जित्न सफल भएको हो । पनौती क्षेत्रीय रंगशालामा भएको खेलमा मानेश्वरी ब्वाईजका लागि सुजन श्रेष्ठले एक मात्र निर्णायक गोल गरे ।
विजेता बनेको मानेश्वरी ब्वाईजले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता श्री कुमारी क्लबले १ लाखसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक श्री कुमारीका उपेन्द्र लावागन चुनिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार मानेश्वरी ब्वाईजका बिक्की चौधरीले हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने मानेश्वरी कै सुजन श्रेष्ठ घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उपमेयर गीता बन्जारा, आयोजक क्लबका अध्यक्ष रामकृष्ण श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।
मानेश्वरी ब्वाईज क्लब र मानेश्वरी महिला समूह, पनौती, काभ्रेको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल १८ टोलीहरुले सहभागिता जनाएका थिए ।