
पनौती । आयोजक मानेश्वरी ब्वाईज क्लब निलो र रातो दुवै टोली जारी लक्ष्मीनारायण (लक्ष्य) स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको तेस्रो क्वाटरफाइनलतर्फ मानेश्वरी निलोले आर एण्ड आर एकेडेमीलाई १–० ले हरायो । मानेश्वरी निलोको जितमा सुबास श्रेष्ठले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता सुबास नै खेलको म्यान अफ दि म्याच बने ।
चौथो क्वाटरफाइनलतर्फ मानेश्वरी रातोले बनेपा ब्वाईज क्लबलाई सडन डेथमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
पनौती क्षेत्रीय रंगशालामा भएको निर्धारित समयको खेलतर्फ मानेश्वरी रातोका लागि बिक्की चौधरीले गोल गरेका थिए भने बनेपा ब्वाईजका लागि रफी महर्जनले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने मानेश्वरी रातो विजयी बन्यो । खेलमा मानेश्वरीका माइकल थापा म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत फागुन १० गते शनिबार आराम दिइएको आयोजकले जनाएको छ । साथै फागुन ११ गते आइतबारका दिन दुवै सेमिफाइनल खेलहरु हुने पनि आयोजकले जानकारी दियो ।
मानेश्वरी ब्वाईज क्लब र मानेश्वरी महिला समूह, पनौती, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल १८ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन १३ गतेका दिन हुनेछ ।