
कपिलवस्तु । पाहुना टोली जोङग्री फुटबल क्लब, सिक्किम, भारत यहाँ जारी दोस्रो मूख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुद्ध रंगशालामा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा जोङग्रीले पुलिसमाथि ४–२ को जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली बन्यो ।
खेलमा जोङ्ग्रीका गोलरक्षक प्रनिश क्षेत्री म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन १८ गते आइतबारको पहिलो सेमिफाइनल खेल थ्रीस्टार क्लब र संकटा फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक संघका अध्यक्ष तिलक थापाले बताए । फाइनल खेल यही फागुन २१ गतेका दिन हुनेछ ।