शिवराज । जागृति युथ क्लब र आयोजक शिवशक्ति युवा क्लब (रातो) कपिलवस्तुमा जारी दोस्रो शिवशक्ति कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शिवराज नगरपालिका–१, कलौनी स्थित शिवशक्ति खेलमैदानमा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा जागृतिले शिवगढी साइनिङ स्टार युथ क्लबलाई २–० ले पराजित गर्यो । जागृतिको जितमा अनिश रोका र सुशिल कुँवरले गोल गरे । खेलको प्लेयर अफ दि म्याच पनि जागृति कै गोलकर्ता अनिश रोका घोषित भए ।
त्यस्तै शुक्रबार नै भएको दोस्रो क्वाटरफाइनलमा आयोजक शिवशक्ति (रातो) ले न्यु सृजनशील युथ क्लबलाई ३–१ ले हरायो । शिवशक्तिको जितमा सुरज चौधरी, कप्तान आशिष जिसी र अभिषेक महतोले गोल गरे । पराजित न्यु सृजनशीलका लागि भने कुमार लामाले एक मात्र गोल फर्काएका थिए । खेलमा शिवशक्ति कै केश्मान जिएम प्लेयर अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत चैत्र १४ गते शनिबार अन्तिम दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । दिनको पहिलो खेलमा सुर्यमुखी युथ क्लब र शिवगढी युथ क्लब भिड्नेछ भने दोस्रो खेलमा ग्रीन भिजन युथ क्लब र द ब्राईट युथ क्लब भिड्ने खेल संयोजक अर्जुन शर्माले जानकारी दिए ।
शिवशक्ति युवा क्लब, शिवराज नगरपालिका–१, कलौनी, कपिलवस्तुको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत्र १७ गतेका दिन हुनेछ ।
- कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
- शिवशक्तिको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिकामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
- दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
- शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
- द ब्राईट युथ र सुर्यमुखी दोस्रो शिवशक्ति कपको क्वाटरफाइनलमा