
मुर्गिया । रुपन्देहीको लिग च्याम्पियन फर्साटिकर यहाँ जारी सुनगाभा सैनामैना गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । फर्साटिकरको जितमा दुवै गोल गणेश हमालले गरे ।
निर्णायक दुई गोलकर्ता फर्साटिकरका गणेश हमाल खेलको प्लेयर अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २१ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल अभिषेक चर्च एफसी, रजहर र एपिएफ फुटबल क्लब, काठमाडौंबीच हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।
मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
त्यस्तै सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।