News आयोजक प्रतिभा चौथो ठोरी गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

ठोरी । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा न. चार विजयबस्तिमा जारी स्वर्गीय राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बुधबार श्री प्रतिभा युवा क्लब (आयोजक ) र पर्सागढी वाई.एस.सी बढ्हानिरबिच अन्तिम क्वाटर फाइनल खेल सम्पन्न भएको छ। निकै रोमान्चक तरिकाबाट अगाडि बढेको खेलको १६ औँ मिनेटमा सुजित बुढाथोकीको पासमा सागर कटुवालले गोल गर्दा पर्सागढीले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको २२औ मिनेटमा बिक्कि चाम्लिङ राईले गोल गर्दा आयोजक प्रतिभा युवा क्लब खेलमा फर्किएको थियो । आयोजकलाई जित दिलाउन सुजन डंगोलले ह्याट्रिक सहित व्यक्तिगत चार गोल गरेका थिए। सुजन डंगोलले पहिलो हाफको क्रमश २८ र ३० मिनेटमा गोल गर्दा आयोजक पहिलो हाफमा ३ एक गोल अन्तरले अगाडि रहेको थियो।

दोस्रो हाफमा पनि सोही लयलाई कायम राख्दै खेलको ३८ औं मिनेटमा सुन्दरगोल मार्फत सुजन डंगोलले ह्याट्रिक पुरा गरे । खेलको ४३ औं मिनेटमा पुनः गोल गर्दै सुजनले व्यक्तिगत चार गोल पुरा गरे।

समग्रमा पाँच, एक गोलले पछि परेको पर्सागढीको लागि खेलको ५७ औँ मिनेटमा पर्सागढीका सागर कटुवालले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फर्किने आशा दिलाएका थिए। त्यस लगत्तै खेलको ५८ औँ मिनेटमा आयोजकका युवराज रायमाझीले आत्मघाती गोल गर्दा पर्सागढीलाई थप राहत मिलेको थियो।

खेलको ६८ औँ मिनेटमा आयोजकको लागि समीर कुँवरले एक गोल थपेपछि बाँकी समय दुवै टोलीबाट गोल हुन सकेन। समग्रमा घरेलु मैदानमा प्रतिभा युवा क्लबले पर्सागढीलाई तिनका विरुद्ध ६ गोलले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ।

उक्त खेलको म्यान अफ दी म्याच प्रतिभा युवा क्लबका चार गोलकर्ता खेलाडी सुजन डंगोल बन्दै उनले नगद रु. २५०० सहित ट्रफी मेडल प्राप्त गरेका छन्।

शुक्रबार एकमात्र पहिलो सेमिफाइनल खेल हनामी बि.एफ.सी चितवन र रेगल एन्फा मकवानपुर हेटौंडा दिनको ठिक दुई बजे प्रतिस्पर्धा गर्नेछन।

Post Comments