बेलबारी । सताक्षीधाम स्र्पोटिङ क्लब, झापा जारी टुबोर्ग स्व. संजोग स्मृति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा आयोजक बेलबारी एफसी (रातो) लाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै सताक्षीधामले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
खेलमा तीनै गोल दोस्रो हाफमा सम्पन्न भए । सताक्षीधामका लागि शिशिर लेखीले ६२औं मिनटमा पहिलो गोल गरे । त्यसको आठ मिनट लगतै लेखीले नै त्यो अग्रता दोब्बर पारे । दोस्रो हाफमा आक्रमक बनेको सताक्षीधामका लागि ८२औं मिनटमा मनिष थापाले तेस्रो गोल गर्दै आयोजकमाथि झापाली टोलीलाई प्रभावशाली जित दिलाए ।
खेलको म्यान अफ द म्याच सताक्षीधामका दुई गोलकर्ता शिशिर लेखी नै घोषित भए । उनले पुरस्कार वापत नगद २५५५ रुपैयाँ हात पारे । प्रतियोगिता अन्तरगत पुष २२ गतेको पहिलो सेमिफाइनल खेल विन्दावासिनी फुटबल क्लब, मोरङ र रारा फुटबल क्लब, राजारानी धनकुटाबीच हुने आयोजकले जनाएको छ ।
बेलबारी फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने आउँदो पुष २५ गते शनिबारका दिन हुनेछ ।