News कपिलवस्तुलाई हराउँदै चाँदनी सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । रोमाञ्चक जितका साथ चाँदनी युवा क्लब, दानापुर जारी शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा चाँदनीले वाणगंगा वेलफेयर सोसाईटी, कपिलवस्तुलाई पेनाल्टी शुटआउटमा ३–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले प्रतिस्पर्धात्मक रुपमा १–१ को बराबरी खेलेका थिए । खेलमा शुरुवाती गोल खाएर पछि परेको चाँदनीले उत्कृष्ट पूनःरागमन गर्दै जित हात पारेको थियो । शुद्धोदन–४ बर्मेलीटोल स्थित फर्साटिकर माविको खेलमैदानमा भएको खेलको ३५औं मिनटमा शिव बोटेले बक्स भित्रबाट विपक्षी गोलरक्षकलाई बिट गर्दै शुरुवाती गोल गरेर वाणगंगालाई खेलमा अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको चाँदनीका लागि ५२औं मिनटमा दिनेश बुढाथोकीले गोल गर्दै खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा वाणगंगामाथि दबाब दिन सफल भएको चाँदनीले थप गोल गर्न भने असफल भएको थियो ।

पेनाल्टी शुटआउटमा भने वाणगंगाले प्रहार गरेको शुरुवाती तीन प्रहार नै गोलमा परिणत हुन सकेन । उता चाँदनीका तीनै खेलाडीले पेनाल्टी प्रहारलाई गोलमा परिणत गरेपछि दानापुरको टोली विजयी बन्न सफल भएको थियो ।

पेनाल्टी शुटआउटमा विपक्षीका दुई प्रहार रोकेका चाँदनीका गोलरक्षक दिपेश परियार म्यान अफ द म्याच घोषित भए । उनलाई आयोजक फर्साटिकर युवा क्लबका लेखा समिति संयोजक भेषराज पौडेलले संयुक्त रुपमा पुरस्कृत गरे ।

सेमिफाइनल समिकरण पनि पूरा

मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत पुष २२ गते बुधबारको पहिलो सेमिफाइनल खेल फूलबारी गाईज, बुटवल र सुनौलो संगम युवा क्लब देवीनगरबीच हुने खेल संयोजक टेकु भण्डारीले जानकारी दिए ।

त्यस्तै दोस्रो सेमिफाइनलतर्फ पुष २३ गते बिहीबारका दिन सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब, चितवन र चाँदनी युवा क्लब, दानापुरबीच हुने समेत संयोजक भण्डारीले बताए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने आउँदो पुष २५ गते शनिबारका दिन हुनेछ ।

Post Comments