News पाँचौ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप हुने
गोपाल काफ्ले

 पथरी । मोरङको पथरी शनिश्चरे नगरपालीकाको शरणार्थी क्याम्पमा पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२१ हुने भएको छ । आउँदो माघ २ देखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा १४ टिमको सहभागिता रहने छ ।

युवा जगतलाई लागुऔषध दुव्र्यसनबाट जोगाउने र खेलको माध्यमबाट शरणार्र्थी शिविर र शिविर बाहिरका खेलाडी र खेलप्रेमीहरु विच भातृत्वको भावना जगाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक समितीका यूथ फ्रेन्ड्ली सेन्टर सदस्य करण राईले बताए ।

प्रतियोगीताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार रुपैँया र उपविजेताले नगद ५१ हजार रुपैँया प्राप्त गर्नेछ । प्रतियोगीताका प्रायोजन तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले गरेको छ ।

भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको आयोजनामा हुने प्रतियोगीता भूटानी शरणार्थी शिविरको रंगसालामा संचालन हुनेछ । प्रतियोगितामा भारतका बिभिन्न क्लबहरुको सहभागीता रहनेछ भने नेपालका ए डिभिजन क्लवबाट खेलेका खेलाडीहरु मैदान उत्रने प्रतियोगीता संयोजक राम कुमार वानियाँले बताए ।

प्रतियोगीतामा काकड्भिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, पथरीशनिश्चरे फुटबल क्लब पथरी, विन्द्यावासिनी फुटबल क्लब विराटनगर, बि.वाई.सि बेलडाँगी, एफ.एफ.सी धरान, बेलबारी फुटबल क्लब, योङ् ब्रदर फुटबल क्लब, नवोदय फुटबल क्लब पथरीशनिश्चरे, उर्लाबारी फुटबल क्लब, धरान सिटी एकेडेमी फुटबल क्लब धरान, फ्यान्स क्लब भुटान (विआरसी), लेटाङ फुटबल क्लब र आयोजक युथ फ्रेन्डली सेन्टर को दुई टिमको सहभागीता रहने छ ।

प्रतियोगिताले स्थानीय फुटबल र रङ्गशालाको प्रचारप्रसार र स्थानिय खेलाडी प्रवद्धर्नमा टेवा पुग्ने रंगशाला निर्माण समितीका अध्यक्ष गणेश थक्लुङ्ले बताए ।

 

Post Comments