News माघे संक्रान्ती कप शुरु, लेटाङको विजयी शुरुवात
गोलनेपाल

बेलबारी । शुक्रबारदेखि शुरु माघे संक्रान्ती कप नकआउट फुटबल प्रतियोगितामा लेटाङ फुटबल क्लब, मोरङले प्रभावशाली जितका साथ विजयी शुरुवात गरेको छ ।

बेलबारी–१ स्थित नक्सलबारी खेलमैदानमा भएको उद्घाटन खेलमा लेटाङले घरेलु टोली नक्सलबारी फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । खेलको ४२औं मिनटमा बिजय भुजेलको गोलबाट लेटाङले खेलमा अग्रता लिएको थियो ।

५७औं मिनटमा भुवन राईले त्यो अग्रता दोब्बर पारे । लगतै ६२औं मिनटमा उमेश कार्कीले तेस्रो गोल गर्दै लेटाङको प्रभावशाली जित पक्का गरे । खेलको म्यान अफ द म्याच लेटाङ कै बिजय भुजेल घोषित भए ।

उद्घाटन खेल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल समेत भएकाले जितसँगै लेटाङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत पुष २५ गते शनिबारको खेल डाँगीहाट फुटबल क्लब र तालतलैया फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन एक र्काक्रमका बीच मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमालले गरेका थिए । नेपाल मगर संघ, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ४१ हजार प्राप्त गर्नेछ ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो माघ १ गतेका दिन हुनेछ ।

Post Comments