News एन्फाको नयाँ क्यालेन्डर सार्वजनिक, फुटसल लिगदेखि ६ महिने फुटबल लिगसम्म
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी बर्ष २०७८ का लागि महत्वाकांक्षी वार्षिक कार्यक्रम क्यालेण्डर सार्वजनिक गरेको छ । क्यालेण्डरमा ए डिभिजन फुटसल लिगदेखि फुटबल लिगसम्म समावेश गरिएको छ । नयाँ क्यालेन्डर अनुसार आगामी बर्षको बैशाख २५ देखि जेठ १५ सम्म ए डिभिजन फुटसल लिगसहित बर्ष २०७८ को शुरुवात हुनेछ ।

६ महिने फुटबल लिग

यसअघि हरेक बर्ष विभिन्न तह र तप्कादेखि फुटबलप्रेमी समर्थकहरुले पनि ६ महिने फुटबल लिग आयोजना गर्नुपर्ने कुरा उठाउँदै आएका थिए । जुन कुरालाई आगामी बर्ष एन्फाले कार्यान्वयन गर्ने जमर्को गरेको छ ।

आगामी बर्षको मुख्य विषय बनेको शहिद स्मारक ए डिभिजन लिग ६ महिने हुने भएको छ । यद्यपि लिग होम एण्ड अवेका आधारमा हुने वा नहुने लगायतका अन्य विषयामा भने खुलाइएको छैन ।

एन्फाले क्यालेन्डरमा जनाएअनुसार ए डिभिजन लिग भाद्र देखि माघसम्म गर्ने उल्लेख छ । त्यस्तै पौष र माघमा बी डिभिजन लिग तथा माघ–फागुनमा सी डिभिजन लिग हुने उल्लेख छ । सी डिभिजन लिगको छनौट प्रतियोगिता भने जेठ–असारमा हुने क्यालेन्डरमा उल्लेख छ ।

त्यसैगरी प्रदेश लिग र एन्फा प्रेसिडेन्ट कप भने क्रमशः फागुन र चैतमा हुने एन्फाको क्यालेन्डरमा उल्लेख छ । त्यसैगरी एन्फा कप नकआउट फुटबल प्रतियोगिता पनि हुने क्यालेन्डरमा प्रकाशित छ । जुन भाद्रको पहिलो सातादेखि हुनेछ । जिल्ला लिग भने जोडा याम पौष–माघमा हुने उल्लेख छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरु

एन्फाको क्यालेन्डरमा अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । जुन जेठमा हुने क्यालेन्डरमा उल्लेख छ । फिफा विश्वकप छनौटतर्फ समूह चरणको अन्तिम खेलका रुपमा नेपाल र जोर्डनबीचको खेल जेठ २४ गतेका दिन हुनेछ ।

नेपालले बाँकी दुई खेलहरु भने यसै बर्ष खेल्ने कार्यक्रम छ । नेपालले चाइनिज ताइपेई र अष्ट्रेलियासँग यसै बर्षको अन्तिमतिर खेल्ने कार्यक्रम छ । जुन क्रमशः २५ मार्च र ३० मार्चका दिन तोकिएको छ ।

साफ यु–१९ च्याम्पियनसिप असार २९ देखि साउन ७ गतेसम्म हुनेछ भने साफ यु–१६ महिला च्याम्पियनसिप भाद्र २ देखि ११ गतेसम्म हुनेछ । प्रतियोष्ठित साफ च्याम्पियनसिप भने भादै २९ देखि असोज ९ सम्म बंगलादेशमा हुने तय भइसकेको छ ।

साफ यु–१५ च्याम्पियनसिप असोज १५ देखि २४ सम्म छ भने साफ यु–१८ च्याम्पियनसिप असोज २९ देखि कार्तिक ७ गतेसम्म रहेको छ । उमेर समूहका खेल आयोजना स्थलबारे भने पछि घोषणा गरिने साफले यसअघि नै बताइसकेको छ ।

अन्तर नगरपालिका यु–२२ फुटबल प्रतियोगिता पनि हुने

आगामी बर्षको क्यालेन्डरमा एन्फाले अन्तर नगरपालिका यु–२२ स्तरीय फुटबल प्रतियोगिता पनि आयोजना गर्ने उल्लेख गरेको छ । त्यस्तै यु–१४ क्वीक्स कप नगरस्तरीय रुपमा जेठ–असारमा हुनेछ भने जिल्ला स्तरीय साउन र भाद्रमा हुने उल्लेख छ । त्यस्तै प्रदेशस्तरीय सो प्रतियोगिता असोज–कार्तिकमा हुनेछन् भने राष्ट्रिय स्तरको क्वीक्स कप मंसिरमा हुने उल्लेख छ ।

ललित स्मृति फुटबल प्रतियोगिता जेठ–असारमा हुने बताइएको छ । त्यस्तै उपमेयर कप राष्ट्रिय महिला लिगको पहिलो चरणको खेलहरु साउन–भदौ, दोस्रो चरणको खेलहरु कार्तिक–मंसिर र अन्तिम चरणका खेलहरु पुष, माघ र फागुनमा हुने क्यालेन्डरमा उल्लेख छ ।

एन्फाको वार्षिक कार्यक्रम क्यालेन्डर हेर्नुहोस्ः

 

 

 

Post Comments