News भलुही र सयपत्री सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । भलुही फुटबल क्लब र सयपत्री युवा क्लब जारी प्रथम चरङ्गे कप सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको क्वाटरफाइनल भिडन्ततर्फ भलुहीले चपरहट्टी युनाइटेड फुटबल क्लबलाई हरायो भने सयपत्रीले सक्रिय एफसीलाई निराश तुल्यायो ।

देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा भएको भलुही र चपरहट्टी बीचको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । नियमित समयतर्फ भलुहीका लागि अनिल क्षेत्रीले गोल गरेका थिए भने चपरहट्टीका लागि अनुप गुरुङ्गले पेनाल्टीबाट गोल गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा भने चपरहट्टी ३–१ ले पराजित हुन पुग्यो । खेलको म्यान अफ द म्याच पराजित चपरहट्टीका नितिन थापा घोषित भए ।

सयपत्रीलाई पनि पेनाल्टी कै सहारा

त्यस्तै अर्को क्वाटरफाइनलमा सयपत्री युवा क्लबले सक्रिय एफसीलाई पेनाल्टी शुटआउट मै २–१ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको म्यान अफ द म्याच भने सयपत्रीका रोहन राना घोषित भए ।

प्रतियोगिता अन्तरगत पुष २८ गते मंगलबार पनि दुई खेलहरु हुनेछन् । पहिलो खेलमा रम्भादेवी एफसी र सिद्धार्थ एफसी भिड्ने छन भने दोस्रो खेलमा सौभाग्य युवा क्लब र फ्रेण्डसिप फुटबल क्लब भिड्ने खेल संयोजक गणेश परियारले बताए ।

चरङ्गे फुटबल क्लब, देवदह–१० चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल माघ २ गतेका दिन हुनेछ ।

 

Post Comments