News चार गोल गर्दै आयोजक अन्तिम चारमा
सुरज राना मगर

बुटवल । विश्वास थापाले ह्याट्रिक गरेपछि आयोजक चरङ्गे फुटबल क्लब जारी प्रथम चरङ्गे कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको तेस्रो क्वाटरफाइनलतर्फ आयोजक चरङ्गेले रम्भादेवी एफसीलाई ४–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आयोजक चरङ्गेको जितमा विश्वास थापाले तीन गोल गर्दै ह्याट्रिक गरे भने थप एक गोल मोहन थापाले गरे ।

उता पराजित रम्भादेवीका लागि आश्मान थापा क्षेत्री र आवेश शाहीले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच पनि पराजित टोली कै जुलेश थापा घोषित भए । उनलाई आयोजक क्लबका शुभेच्छुक मित्र खड्काले पुरस्कृत गरे ।

फ्रेण्डशिप एफसी पनि सेमिफाइनलमा

त्यस्तै मंगलबार नै भएको अन्तिम क्वाटरफाइनलमा फ्रेण्डशिप फुटबल क्लबले सौभाग्य युवा क्लबलाई १–० को साँघुरो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । फ्रेण्डशिपको जितमा बिकास रानाले एक मात्र निर्णायक गोल गरे ।

खेलको म्यान अफ द म्याच पराजित टोली सौभाग्यका कप्तान यमु राना घोषित भए । उनलाई आयोजक क्लबका शुभेच्छुक तिलक परियारले नगदसहित पुरस्कृत गरे ।

सेमिफाइनल समिकरण पनि पूरा

मंगलबार सम्पन्न भएका दुई खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको प्रतियोगिता संयोजक साहिन्स रानाले बताए । प्रतियोगिता अन्तरगत पुष २९ गते बुधबारको पहिलो सेमिफाइनल खेल भलुही एफसी र फ्रेण्डशिप क्लबबीच हुनेछ भने दोस्रो खेल आयोजक चरङ्गे एफसी र सयपत्री युवा क्लबबीच हुने संयोजक रानाले बताए ।

चरङ्गे फुटबल क्लब, देवदह–१० चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अमर सिंह रानाले बताए । फाइनल खेल भने माघ २ गतेका दिन हुने समेत अध्यक्ष रानाले बताए ।

Post Comments