Province 1 आयोजक झरना सेमिफाइनलमा
गोलनेपाल

बिराटचोक । आयोजक झरना युवा क्लब प्रथम प्रदेशस्तरीय खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा लेटाङ एफसीलाई सडन डेथमा हराउँदै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो ।

सुन्दरहरैचा–९ स्थित इन्द्रपुर रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक नियमित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । आयोजक झरनाले खेलको छैटौं मिनटमै शिशिर लेखीको गोलबाट खेलमा शुरुवाती अग्रता बनाएको थियो । तर आयोजकले त्यो अग्रतालाई जोगाउन भने सकेन ।

उता लेटाङका लागि मिक्चेन तामाङले ३२औं मिनटमा गोल गर्दै खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याएका थिए । टाईब्रेकरमा पनि खेलको छिनोफानो हुन नसकेपछि खेल सडन डेथतर्फ धकेलिएको थियो । सडन डेथमा भने आयोजक झरना ८–७ ले विजयी हुन सफल भयो ।

खेलको म्यान अफ द म्याच झरना युवा क्लबका गोलरक्षक पुर्ण चेम्जोङ घोषित भए । उनलाई सुन्दरहरैचा नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष राजकुमार कार्कीले नगद २१ सय र ट्रफी सहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत फागुन ४ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल धरान सिटी फुटबल एकेडेमी र डाँगीहाट फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

झरना युवा क्लब, सुन्दरहरैचा–९ मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । फाइनल खेल भने फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments