झापालाई हराउँदै फिदिम ताप्लेजुङ गोल्डकपको फाइनलमा
रमेश समदर्शी

फुङलिङ । उपाधिको दाबेदार टोली झापा ११ एफसीलाई रोक्दै फिदिम स्पोर्टिङ क्लब पाँचथर यहाँ जारी चौथो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिम पहिलोपल्ट फाइनलमा प्रवेश गरेको हो ।

भानुजन माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनलमा झापा ११ लाई १-० गोलअन्तरले पराजित गर्दै फिदिम उपाधि होडमा उक्लिएको हो । घरेलु खेलाडीले भरिएको पाँचथरे टोलीको जितमा सुशन जवेगुले गोल गरेका हुन् ।

खेलको ३४औँ मिनेटमा पाएको कर्नर किकमा जमिन लक्समले प्रहार गर्दा सुशनले हेडर गोल गरेका हुन् । राष्ट्रिय टोलीका सदस्यले भरिएको झापाली टोलीको पटक पटकको आक्रमण फिदिमका गोलरक्षक मिराक खजुमले विफल बनाइदिएका थिए ।

मिराक प्लेयर अफ दी म्याच बन्दै ७ हजारबराबरको अलैँची पाउन सफल भए । फिदिमले शुक्रबार डिफेन्डिङ च्याम्पियन सल्हेश युवा क्लब सिरहासँग फाइनल खेल खेल्नेछ ।

च्याम्पियन बन्ने टोलीले नगद ७ लाख २ हजार ८३ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ पाउने छ । टिकट खरिद गर्ने भाग्यशाली एक जना दर्शकले फाइनल खेलमा स्कुटी पाउने व्यवस्था मिलाइएको छ । सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । दैनिकरुपमा भाग्यशाली उपहारमार्फत एक जनाले इन्डक्सन चुल्हो पाइरहेका छन् ।

Post Comments