Province 1 तालतलैया क्वाटरफाइनलमा
गोलनेपाल

सुकचर । तालतलैया फुटबल एकेडेमी, सुनसरी यहाँ जारी प्रथम सुकचर च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको प्रिक्वाटरफाइनल खेलतर्फ तालतलैयाले हरैचा स्र्पोटिङ क्लब, मोरङलाई २–१ ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो ।

सुकचर स्थित बुढीगंगा खेलमैदानमा भएको खेलमा तालतलैयाका लागि २७औं मिनटमा उमेश राईले पहिलो गोल गरे । त्यस्तै मनिष मगरले ४८औं मिनटमा त्यो अग्रता दोब्बर पारे । जुन गोल खेलको निर्णायक गोल समेत साबित भयो । उता हरैचाका लागि संजय घिमिरेले ६९औं मिनटमा एक गोल फर्काए तापनि टोलीको हार टार्न सकेनन् ।

खेलमा तालतलैयाका उमेश राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५०० सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत भदौ २८ गते सोमबारको पहिलो क्वाटरफाइनल खेल बिराटनगर स्पोर्टस एकेडेमी र तालतलैया फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

नवयुवा क्लब सुकचर ११, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो असोज ४ गतेका दिन हुनेछ ।

Post Comments