Province 1 बिराटनगर स्पोर्टस एकेडेमी फाइनलमा
गोलनेपाल

सुकचर । रोमाञ्चक जित निकाल्दै बिराटनगर स्पोर्टस एकेडेमी, मोरङ यहाँ जारी प्रथम सुकचर च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा बिराटनगरले औराबनी फुटबल क्लब, सुनसरीलाई ३–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । बुढिगंगा खेलमैदानमा सम्पन्न खेलमा बिराटनगरका लागि ३१औं मिनटमा नबिन माझीले पहिलो गोल गरे भने ३६औं मिनटमा प्रसिद्ध राईले दोस्रो गोल गरे । त्यस्तै तेस्रो गोल भने ७२औं मिनटमा बिकास खवासले गरे ।

उता पराजित औरावनीका लागि दुवै गोल खेलको २१ र ६८औं मिनटमा आशिष चौधरीले गरेका थिए । खेलको म्यान अफ द म्याच भने बिराटनगरका अरविन्द राई घोषित भए । उनलाई आयोजक क्लबका अध्यक्ष मुकेश राम चौधरीले नगदसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत असोज २ गते शनिबारको दोस्रो सेमिफाइनल खेल आयोजक नव युवा क्लब सुकचर ११, मोरङ र योङ ब्वाइज फुटबल क्लब, सुनबर्सी मोरङबीच हुने आयोजकले जनाएको छ ।

यहि असोज ४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments