Province 1 मदन मेमोरियल फुटबल प्रतियोगिताको उपाधि गिरी युवा समाज खाम्लालुङ लाई
रमेश समदर्शी

ऐतिहासिक आठराई मदन मेला २०७८ को अवसरमा आयोजित मदन मेमोरियल फुटबल प्रतियोगिताको उपाधि गिरी युवा समाज खाम्लालुङले जितेको छ ।

साविक विजेता प्रगतिशील तमु युवा समाज ह्वाकुलाई पराजित गरेर खाम्लालुङले उपाधि रक्षा गरेको हो ।

त्रि-मोहन माविको खेलमैदानमा आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा खाम्लालुङले ३-१ गोलअन्तरले ह्वाकुलाई पराजित गरेको हो । खाम्लालुङका लागि आशिष लिम्बू, दिनेश लिम्बू र सन्तोष लिम्बूले गोल गरेका थिए ।

साविक विजेता ह्वाकुका लागि एकमात्र गोल कप्तान प्रविण लिम्बूले गोल गरे । उनले बेस्ट प्लेयरहुँदै नगद ३ हजार पाउन सफल भए ।

प्रतियोगितामा खाम्लालुङका गोलरक्षक प्रेम लिम्बू उत्कृष्ट बने । यस्तै, खाम्लालुङकै बेस्ट डिफेन्स सन्तु लिम्बू घोषित भए भने आयोजकका खेलाडी मिलन तामाङ उदीयमान खेलाडी घोषित भए । उनीहरुले समान नगद ३-३ हजार पाउन सफल भए ।

अनुशासित टिम भने ग्रामीण विकास समाज खाम्लालुङ बन्यो । उसले नगद ५ हजार पाएको छ । सर्वाधिक गोलकर्ता पनि ग्रामीण विकास समाजका युवराज लावुङ भए । उनले पनि नगद पुरस्कार पाए ।

१८ वटा टिम सहभागी प्रतियोगिताको विजेता खाम्लालुङले नगद १ लाख ३५ हजार र ट्रफी पायो भने उपविजेता ह्वाकुले नगद ७५ हजार र ट्रफीमा चित्त बुझाएको छ ।

आठराई मदन मेला २०७८ आयोजक समितिले आयोजना गरेको कार्यक्रममा विभिन्न १० वटा विधामा प्रतियोगिता गराइएको थियो ।

Post Comments