Province 1 विजय युथ फाइनलमा, उपाधिका लागि आयोजकसँग भिड्ने
गोलनेपाल

मधुमल्ला । विजय युथ क्लब, हेटौडा यहाँ जारी प्रथम मधुमल्ला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा जलथल एफसी, झापालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै विजय युथ फाइनलमा प्रवेश गरेको हो ।

श्री मनोहर जनता माविको खेलमैदानमा सम्पन्न खेलको ११औं मिनट मै समिरराज थोकरको गोलबाट विजय युथले खेलमा अग्रता बनाएको थियो । ३३औं मिनटमा रुपक लामाले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ४५औं मिनटमा मेसुकेले तेस्रो गोल थप्दै विजय युथको शानदार जित पक्का गरे ।

खेलमा विजय युथका समिरराज थोकर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । विजय युथले अब फाइनलमा बैशाख ९ गतेका दिन आयोजक इस्ट स्टार स्र्पोटिङ क्लबसँग उपाधिका लागि भिड्नेछ ।

इस्ट स्टार स्र्पोटिङ क्लब, मधुमल्ला, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments