Province 2 वडा नं. २ र १५ उपाधिका लागि भिड्दै, नवौं वडा अध्यक्ष कपको फाइनल समीकरण पूरा
गोलनेपाल

लालबन्दी। सर्लाहीको लालबन्दी नगरपालिका–११, हिरापुरमा जारी नवौं नगरस्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत सेमिफाइनल चरणका खेल सम्पन्न भएका छन्। आठौं दिन सम्पन्न दुई रोमाञ्चक खेलबाट वडा नं. २ र वडा नं. १५ ले फाइनलमा स्थान सुरक्षित गरेका छन्।

पहिलो सेमिफाइनल खेलमा वडा नं. २ ले वडा नं. ६ लाई १–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको १०औं मिनेटमा शिवप्रसाद चौलागाईंले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो।

निर्णायक गोलकर्ता चौलागाईं खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद रु. १ हजार ५०० सहित ट्रफी प्राप्त गरे।

त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा वडा नं. १५ ले वडा नं. ३ लाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै फाइनलमा वडा नं. २ सँगको भेट पक्का गर्‍यो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको तेस्रो मिनेटमा वडा नं. ३ का विक्की पासवानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको १०औं मिनेटमा वडा नं. १५ का लक्षु बोम्जनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। निर्धारित समयमा थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गर्दै एक प्रहार बचाएका वडा नं. १५ का गोलरक्षक सुरज थिङ ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद रु. १ हजार ५०० सहित ट्रफी प्राप्त गरे।

प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख २२ हजार २२२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ६१ हजार ११० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। तृतीय हुने टोलीले नगद रु. ३९ हजार ११० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही नगद रु. २ हजार १०० सहित ट्रफी प्राप्त गर्नेछन्।

Post Comments