Province 2 राजर्षि जनक कपमा पिप्ले युवा क्लब, हेटौँडाको विजयी सुरुवात
रमेश समदर्शी

बाग्मती नगरपालिकामा शनिबारदेखि सुरु भएको पाँचौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा हेटौँडाको पिप्ले युवा क्लबले विजयी सुरुवात गरेको छ ।

सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा आयोजित प्रतियोगितामा काठमाडौँको चन्द्रागिरी नगरपालिकालाई २-० गोलअन्तरले पराजित गर्दै पिप्ले युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । पाहुना टाली चन्द्रागिरीलाई पहिलो हाफमै २ गोल गरेर हेटौँडाले स्तब्ध बनाएको हो ।

हेटौँडाका लागि विदेशी खेलाडी ग्लोरीले खेलको २५औँ मिनेटमा आकर्षक गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । यस्तै, दिपेश आलेले खेलको ३१औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । उनी खेलका म्यान अफ दी म्याच घोषित भए ।

बाग्मती क्लब र बाग्मती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विदेशी २ टोलीसहित १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १० लाख एक हजार पाउँदा उपविजेताले नगद ५ लाख ५ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

क्लबका अध्यक्ष किस्मतराज मैनालीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन प्रदेश नं. २ का मुख्यमन्त्री लालबहादुर रावतले गरेका थिए ।

आइतबारको खेल सेन्ट्रल कलेज विएफसी चितवनविरुद्ध एपीएफ काठमाडौँबीच खेल हुनेछ ।


Post Comments