Province 3 अन्जनको ह्याट्रिकमा हौंसिएको नेपाल
गोलनेपाल

काठमाडौं । लामो समय अन्तर्राष्ट्रिय फुटबलमा प्रभावशाली जित हात पार्न नसकेको नेपाली पुरुष फुटबल टोलीले मंगलबार बेलुका बंगलादेशमाथि ३–१ को जित दर्ता गर्यो ।

नेपालका लागि नायक बने फरवार्ड अन्जन बिष्ट । बंगलादेश विरुद्ध नेपालले गरेको तीन गोल बिष्टको नाममा रह्यो । अर्थात उनले बंगलादेश विरुद्ध ह्याट्रिक गरे । यो ह्याट्रिकसँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या पनि १० पुगेको छ । यो तथ्यांकसँगै उनले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने नेपाली खेलाडीको सूचीमा बिमल घर्ती मगर र भरत खवासलाई पनि उछिनेका छन् ।

दशरथ रंगशालामा खेलको १८औं मिनटमा अन्जनले पहिलो गोल गरे । २७औं मिनटमा त्यो अग्रता दोब्बर पारे । त्यस्तै ३८औं मिनटमा तेस्रो गोल गर्दै अन्जनले आफ्नो ह्याट्रिक पूरा गरे । उता बंगलादेशका लागि ५५औं मिनटमा होसेनले एक गोल फर्काए तापनि पाहुना टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यो जितसँगै अन्तर्राष्ट्रिय फुटबलमा नेपालको सम्भावना अझै पनि प्रबल नै रहेको देखिएको छ । यद्यपि सम्बन्धित पक्षले खेलाडीहरुको चाहना र नेपाली फुटबलको विकासमा के कस्तो कदमहरु चाल्नुपर्ने हो, त्यसबारे गम्भिर भएर मनन भने गर्नुपर्ने जरुरी देखिएको छ ।

रितिक र आशिषको डेब्यु

बंगलादेश विरुद्ध नेपालका रितिक खड्का र आशिष चौधरीले डेब्यु समेत गरे । उता नेपालका अन्तरिम प्रशिक्षक प्रदिप हुमागाईंका लागि पनि यो जित अविस्मरणीय बन्यो । राष्ट्रिय टोली सम्हालेको उनले पहिलो खेल मै प्रभावशाली जित हात पार्नुलाई महत्वपूर्ण मानिएको हो ।

 

Post Comments