कालीगण्डकी गोल्डकपको फाइनलमा होराइजन र ज्योतिपुञ्ज भिड्ने
गोलनेपाल

स्याङ्जा। स्याङ्जाको चापाकोटमा जारी आठौँ कालीगण्डकी गोल्डकप २०८३ को फाइनलमा होराइजन क्लब, वालिङ, स्याङ्जा र ज्योतिपुञ्ज युवा क्लब, रामपुर, पाल्पाबीच प्रतिस्पर्धा हुने भएको छ। बुधबार सम्पन्न दुवै सेमिफाइनलमा जित निकाल्दै होराइजन र ज्योतिपुञ्जले उपाधि भिडन्त पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा बौद्ध शान्ति क्लब, रामघाट, पोखरालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै होराइजन फाइनलमा प्रवेश गर्दा दोस्रो सेमिफाइनलमा हिल्ली फिल्डर्स गोर्खा एफसी, दलभञ्ज्याङ, गोर्खालाई २–० गोलले हराउँदै ज्योतिपुञ्जले अन्तिम दुईमा स्थान बनायो।

पहिलो सेमिफाइनलमा होराइजन क्लब, वालिङ र बौद्ध शान्ति क्लब, रामघाट, पोखराबीचको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको २४औँ मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै बौद्ध शान्तिलाई अग्रता दिलाए। त्यसपछि खेलको ३४औँ मिनेटमा अनिष तामाङले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै होराइजनलाई खेलमा फर्काए। पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर बनाए पनि थप गोल हुन सकेन।

निर्धारित समयसम्मको खेल बराबरीमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी प्रहारमा होराइजनले ५–४ गोलको नतिजा निकाल्दै बौद्ध शान्तिलाई पराजित गर्‍यो र फाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो। उत्कृष्ट प्रदर्शन गरेका होराइजनका गोलरक्षक अनिष महतो प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो सेमिफाइनलमा ज्योतिपुञ्ज युवा क्लब, रामपुर, पाल्पाले हिल्ली फिल्डर्स गोर्खा एफसी, दलभञ्ज्याङ, गोर्खालाई २–० गोलले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। खेलको १३औँ मिनेटमा बसन्त कुमालमाथि विपक्षी खेलाडीबाट भएको फाउलपछि ज्योतिपुञ्जले पेनाल्टी प्राप्त गरेको थियो। उक्त पेनाल्टीलाई सदुपयोग गर्दै आशिष गुरुङले गोल गरेपछि ज्योतिपुञ्जले सुरुवाती अग्रता बनायो। पहिलो हाफसम्म १–० ले अघि रहेको ज्योतिपुञ्जले दोस्रो हाफमा पनि आफ्नो अग्रता कायम राख्यो। सुनिल थापाले दोस्रो गोल थपेपछि ज्योतिपुञ्जले २–० को जित सुनिश्चित गर्दै फाइनलमा स्थान बनायो। गोलकर्ता आशिष गुरुङ प्लेयर अफ द म्याच घोषित भए।

अब प्रतियोगिताको उपाधिका लागि बिहीबार होराइजन क्लब, वालिङ, स्याङ्जा र ज्योतिपुञ्ज युवा क्लब, रामपुर, पाल्पाबीच दिउँसो ठीक २ बजे फाइनल प्रतिस्पर्धा हुनेछ।

द राइजिङ ग्रुप, चापाकोट, स्याङ्जाको आयोजनामा कात्तिक १५ गतेदेखि गंगालाल माध्यमिक विद्यालय खेलमैदान, सुन्तलीटार, चापाकोटमा सञ्चालन भइरहेको प्रतियोगितामा आठ टोली सहभागी छन्। विजेताले नगद रु. ३ लाख र उपविजेताले रु. १ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई रु. ५ हजार प्रदान गरिँदै आएको छ।

Post Comments