Province 4 संकटा आहा! रारा गोल्डकपको फाइनलमा
उमेश पुन

पोखरा। संकटा क्लब यहाँ जारी प्रतिष्ठित १९औं आहा रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै संकटा उपाधि नजिक पुगेको हो ।

संकटाको जितमा पहिलो हाफको ३३औं मिनटमा सुवास गुरुङले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो गोल भने जोन ग्लोरीको नाममा रह्यो । जुन गोल खेलको अन्तिम पनि बन्न पुग्यो ।

खेलको म्यान अफ द म्याच संकटाका अमित तमाङ घोषित भए । प्रतियोगिता अन्तरगत चैत्र २६ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २८ गतेका दिन हुनेछ ।

Post Comments