Province 4 साबित्रा र सुमन नगद सहित सम्मानित
गोलनेपाल

पोखरा । नेपाली महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारी र पुरुष फुटबल टोलीका डिफेन्डर सुमन अर्याल नगदसहित सम्मानित भएका छन् ।

गण्डकी प्रदेश सरकारले गत बर्ष नेपाल मै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) तर्फ पदक जित्न सफल भएका आफ्ना खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुलाई सम्मानित गर्यो । सोही अवसरमा साबित्रा र सुमन पनि सम्मानित भएका हुन् ।

प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मार्फत कुल ४७ जनालाई नगद सहित सम्मात गरेको बताएको छ । मन्त्रालयका अनुसार हाल कोरोना भाइरस महामारीका कारण सबैलाई एकै ठाउँमा भेला गराएर सम्मान गर्न नसकिएको जनाएको छ ।

साथै मन्त्रालयले पुरस्कार रकम सम्बन्धित खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुको बैंक खातामा राखिदिएको समेत जनाएको छ । जसअन्तरगत पुरुष फुटबलतर्फ स्वर्ण जित्न सफल सुमन अर्यालले ७५ हजार हात पारेका छन् भने महिला फुटबलतर्फ रजत जितेकी साबित्राले ५० हजार हात पारेकी छिन् ।

स्मरण रहोस, सागको पुरुष फुटबलतर्फ नेपालले फाइनलमा भुटानलाई हराउँदै स्वर्ण जितेको थियो भने महिला फुटबलतर्फ नेपालले परस्पर प्रतिद्वन्द्वी भारतसँग हार बेहोर्दै रजत पदकमै चित्त बुझाउन बाध्य भएको थियो ।

प्रदेश सरकारका अनुसार सागमा एकलतर्फ स्वर्ण पदक विजेतालाई १ लाख, टिम गेममा स्वर्ण विजेतालाई ७५ हजार, एकलतर्फ रजत जित्नेलाई ७० हजार, टिमतर्फ रजत जित्नेलाई ५० हजार, एकल तर्फ काश्य विजेतालाई ४० हजार तथा टिमतर्फ काश्य विजेतालाई ३० हजार प्रदान गरिएको बताइएको छ ।

 

 

Post Comments