Province 4 एन्फा कास्की छानविनको निर्णय अझै पर्खनुपर्ने
गोलनेपाल

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहत रहेको एन्फा कास्कीमा भएको आर्थिक अनियमितताबारे छानविन समिति गठन गरि छानविन गरेको थियो ।

समितिले उक्त विषयमा आवश्यक छानविन गरि रिपोर्ट केन्द्रलाई पनि बुझाएको थियो । यद्यपि रिपोर्ट बुझाएको तीन साता बितिसक्दा पनि त्यसाबरे अझै केही निर्णय भइसकेको छैन ।

केन्द्रिय एन्फाले उपाध्यक्ष बिर बहादुर खड्काको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले साउन दुई गते प्रतिवेदन पनि एन्फासमक्ष बुझाएको थियो ।

तर पोखरास्पोर्टसमा प्रकाशित खबरअनुसार उक्त छानविनबारे निर्णय गर्न अझै एक साता लाग्ने बताइएको छ । उता छानविनबारे जानकारी दिंदै एन्फाका महासचिव इन्द्रमान तुलाधरले कानुन विभाग र लेखा विभागसँग यसबारे राय माग्ने बताएका छन् ।

एन्फा अध्यक्षले दुई विभागसँग राय माग्न भनेको बताउँदै तुलाधरले यसबारे आउँदो शुक्रबारसम्म निर्णय हुने समेत उनले जानकारी दिए । त्यस्तै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने अडिट रिपोर्ट नभएकाले निर्णय गर्न ढिलाई भएको कुरा पोखरास्पोर्टसले जनाएको छ ।

उता एन्फा कास्कीका अध्यष मिलन गुरुङले भने आफूहरु अडिट रिपोर्ट तयारीको अन्तिम चरणमा पुगेको प्रतिक्रिया दिएका छन् । अध्यक्ष गुरुङका अनुसार रिपोर्ट सोमबारसम्म केन्द्रमा पठाउने बताए ।

स्मरण रहोस, छानविन समितिका संयोजक खड्काले एन्फा कास्कीलाई यहि साउन २१ गते साधारणसभा गर्न निर्देशन दिएको थियो । तर छानविन समितिले करिब दुई साता लगाएर तयार पारेको रिपोर्टबारे अझै केही निर्णय नआउँदा एन्फा कास्कीको साधारणसभा गर्न पनि ढिलाई भएको बताइएको छ ।

त्यति मात्र नभएर भक्तपुर जिल्ला फुटबल संघलाई कारवाही गर्न निकै तत्परता देखाएको केन्द्रिय एन्फाले कास्कीको छानविन रिपोर्ट प्राप्त भईसक्दा पनि त्यसबारे निर्णय लिन ढिलाई गर्दा छानविन समिति कै सदस्यहरु पनि असन्तुष्ट रहेको बताइएको छ ।

 

Post Comments